समाचार

चैत २५, २०७७ बुधबार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको निर्वाचनमा मतदान सकिएको छ । महासंघको कूल मतदाता ३११ जनामध्ये ३०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतदान शन्तिपूर्ण तवरले सकिएको छ । मतगणना आजै शुरु गर्ने किन भोलि बिहान गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । 

महासंघको २६ औं निर्वाचन देशभर एकै साथ भएको हो । महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्न लागिएको हो ।

कास्कीसहित गण्डकी प्रदेश र केन्द्रमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी समूहको संयुक्त प्यानल, प्रेस चौतारीको प्यानल र केही स्वतन्त्र उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका छन् ।

महासंघ कास्कीमा गठवन्धनको नेतृत्व बिमला भण्डारी र चौतारीको नतृत्व केशवशरण लामिछानेले गरेका छन् । यस्तै गण्डकीमा गठवन्धनको नेतृत्व नारायण प्रसाद शर्मा र चौतारीको नेतृत्व दीपेन्द्र श्रेष्ठले गरेका छन् ।

यसैगरी महासंघ केन्द्रमा गठवन्धनको नेतृत्व विपुल पोखरेल र चौतारीको नेतृत्व निर्मला शर्माले गरेकी छन् भने अन्य दुई जनाको स्वतन्त्र उम्मेदवारीसमेत परेको छ ।