राजनीति

चैत २६, २०७७ बिहिबार

काठमाडौँ।  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

 बैठकमा  विभिन्न समिति र आयोगका प्रतिवेशन पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विद्येयक’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विद्येयकको प्रतिवेदन बैठकमा पेश हुन लागेको हो ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन् । कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन समितिले आज सदनमा पेश गर्न लागेको हो ।

विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि फागुन २३ मा शुरू भएको संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको छैन ।

बैठकहरूमा शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू  मात्र पेश हुँदै आएका छन् ।