सम्पादकीय

चैत ३१, २०७७ मंगलबार

वर्ष २०७७ बिदा भएर गएको छ । हामी नेपाली नयाँ वर्ष विक्रम संवत २०७८ मा प्रवेश गरेका छौं । समयको प्रवाह अनन्त छ । यो चलिरहन्छ । यो अनन्त प्रवाहलाई हामी खण्ड खण्डमा विभाजन गर्छौैं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुशी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं । साँस्कृतिक अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका यस्तै खण्डहरू हुन् जो हाम्रो सामाजिक जीवनशैलीसँग जोडिएका छन् । समयका यी अनेक खण्डहरू हाम्रा जीवनशैली र परम्परा बनेका छन् । हामी नेपाली आज यही परम्परा र जीवनशैलीको अर्को कडीमा आइपुगेका छौँ, नयाँ वर्ष २०७८ को स्वागत गर्दैछौँ । धेरै वर्षहरु यसरी नै बित्दै जाने हुन् । तर समय सदा एकैनाश र एकै गतिमा रही रहन सक्दैन । वर्ष बित्ने कुरा स्वभाविक छ तर समयको काल खण्डले नेपाल र नेपालीलाई मात्र होइन विश्वनै अहिले विषयम परिस्थितबाट गुज्रिरहेको छ । 

देशको कुरा गर्दा दुई तिहाईको सरकारले समृद्धिको उच्च स्वरमा कुरा गरे पनि मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्न सकेन । जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनीकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सेकेनौँ । सामान्यतया कुनै पनि विषय, सन्दर्भ र घटनाका सम्बन्धमा चर्चा परिचर्चा गर्दा राम्रो र सुधारिएको पक्षको भन्दा सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै उपदेश बढी दिने संस्कारबाट ग्रस्त रह्यौं यो वर्ष पनि हामी । सारा विश्व कोरोना भाइरससँग लडिरहेका बेला पनि हाम्रोमा केही व्यापारी र राजनीतिक नेतृत्व भष्टाचार र अनियमिततामा मुछिए । देश नराम्रोसंग राजनीतिक द्धन्दमा फस्यो । जसले दुःखमा पनि मुलुकमा भ्रष्टाचार र दण्डहीनता कसरी बढिरहेको छ भन्ने उदाहरणको रूपमा पुष्टि गरिदिए । जुन नहुनुपर्ने थियो । यो वर्ष संसद विघटन, सर्वोच्चको फैसलादेखि नेकपा विभाजनसम्मे देशभित्र चर्चा पाइनै रह्यो । जसले देशको सुशासन, पारदर्शिता र सरकारको छविमा कालो दाग लाग्नबाट बचाउन सकेन ।  

साथै करिब ५ दशकपछि काठमाडौं भित्रिएको मेलम्चीले पनि राम्रै स्थान पायो ।विभिन्न काण्ड यो वर्षका सबै भन्दा मुख्य समाचार बने । आफ्ना नजिकका र आसेपासेलाई काखी च्याप्दा गलत संस्कार र भष्ट्राचारले बढावा पायो । सरकारी सम्पत्ति र राज्यको स्रोत हिनामिना र दुरुपयोगमा राजनीतिक व्यक्तिहरूकै नाम अग्रपंक्तिमा आउने क्रम रोकिए, झन् बढ्यो । संसदीय प्रणालीमा विपक्षलाई ‘प्रतीक्षारत सरकार’ पनि भनिन्छ । नेपालमा अहिले नेपाली कांग्रेस प्रमुख विपक्षी दल हो । जनमतमा खासै सानो नभए पनि संसद्मा कांग्रेसको उपस्थिति संख्यात्मकरूपमा निकै कमजोर छ । तर, यही कारणले अहिले संसद्मा कांग्रेसको भूमिका प्रभावकारी नभएको भने हैन । सरकारको प्रभावकारी निगरानी गरेर सशक्त विरोध गर्न सकेमात्र लोकतन्त्रको पनि रक्षा हुन्छ । नागरिकका कुरा भन्दा पनि घरभित्रैको झगडाबाट कांग्रेस बाहिर निस्कन सकेन । जनतामा कुनै उत्साह थप्न सकेन । न त सरकारको गल्ति औंल्याएर जनतामार्फत खबरदारी गर्न सक्यो । कहिलेकाहीँ माइतीघर मण्डलामा भातृसंगठनको उपस्थितिबाहेक सरकारलाई सहि बाटोमा ल्याउन दबाब दिन सकेन । 

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराश हुन स्वभाविकै हो । राजनीतिक दल र तिनको नेताहरू आ–आफ्ना निश्चित विचार, दर्शन, सिद्धान्त र राजनैतिक नाराबाट टसमस् नहुने र अहंकारको डम्फु बजाउँदै भित्तामा सिंगौरी हान्ने गलत राजनैतिक अभिष्टका कारण मुलुकले खास प्रगति गर्न सकेन । अरु मौसमी आरोप प्रत्यारोप त नेपाली राजनीतिको संस्कार जस्तै बनिसकेको छ । अरु भ्रष्ट आफू सर्वश्रेष्ठ, म र मेरो मात्र ठीक अरु जम्मै गलत, हामी भए हुन्छ अरु आए स्वीकार गरिदैन, यही चिन्तन, व्यवहार र मानसिकताका कारण मुलुकले खास गति लिन सकेन । यो क्रम अझ बढ्ने देखिन्छ । सरकारभित्रकै मन्त्रीमण्डलदेखि सरकारी पदाधिकारी होस् वा सत्तारूढ दलभित्र समन्वय नगर्ने र एक अर्काप्रति दोषारोपण  आशंकाको घेरा बाक्लिने क्रम चुलिँदो छ । जुन सुखद् लक्षण त हुँदै होइन । कुराको आत्मरतिमा रमाइरहेको सरकारले कर्ममा विश्वास गरोस् । अबका दिन थप चुनौतीपूर्ण छ सरकारका लागि रोगसँग लड्नु, जनताको ज्यान जोगाउनु त छँदै विदेशमा रहेका आफ्ना लाखौं नागरिकलाई कसरी व्यवस्थापन गर्ने, बेरोजगार भएर फर्केकाहरूको लागि स्वदेशमा रोजगारीका अवसरहरू थप चुनौतीपूर्ण देखिएको छ । रेमिट्यान्सबाट चलेको मुलुकमा त्यो स्रोत ह्वात्तै गुम्न पुग्दा देशको अर्थतन्त्रले बेहोर्ने क्षति कम छैन ।

तसर्थ, यहि विषम् परिस्थितिबाट पनि मुलुकको समग्र विकास प्रक्रियाले गति लेओस् । विगत जे जस्तो भएपनि भविष्य सुन्दर एवं स्वर्णिम होस् । सबैका आपसी बेमेल, कटुता, असमझदारी हटुन् । सबै नेपाली एउटै मालामा सामुहिक भावनामा जोडिन सक्ने प्रण गरौं । अपेक्षा गरौँ, सरकारले बितेको वर्षको गम्भीरतापूर्वक समीक्षा गर्नेछ । आगामी दिनमा जनस्तरबाट उठेका आवाजहरूलाई सरकारले सुदृढ गर्दै जानेछ । यस वर्ष २०७७ का गल्तीहरू दोहोरिने छैनन् । आम नागरिकले आफ्ना लागि सरकार छ भन्ने अनुभूति गर्न सकून् । प्रत्येक नागरिकले आफू सुरक्षित रहेको अनुभव गर्न सकोस् । द्रुततररूपमा फैलिएको यो भाइरसले अहिले विश्वका कयौं विकसित तथा आधारभूत सुविधाका धनी भनिएका मुलुक पनि कोरोना संक्रमणबाट मुक्त होइन बढ्ने क्रममा छ । सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको पहललाई सहयोग गर्दै संकटको घडीमा होष्टेमा हैँसे गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । यसले विश्वमा पारेको प्रभाव, कयौं मुलुकले भोगेको नियतिलाई पाठका रूपमा ग्रहण गर्दै हामीले आगामी दिनमा निम्तन सक्ने थप खतरालाई टार्न सक्छौं । यसका लागि तीनै तहका सरकार, दलहरू, सामाजिक संघसंस्था, व्यवसायीलगायत आम नागरिक एक हुन आवश्यक छ । कोरोना भाइरस विरूद्ध अझै एक होऔँ ।

नयाँ वर्षको प्रारम्भ भनेको बितेको वर्षको समीक्षा गर्दै नयाँ योजनाका साथ अघि बढ्ने समय पनि हो । खास गरी खुलेर भेटघाट, भोजभत्तेर गरेर शुभकामना साटासाट, मनोरञ्जन तथा पूजाआजा गरी नयाँ वर्ष मनाउने परम्परा छ । तर नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्षको उत्सव यस वर्ष रहेन । तर जो जहाँ छौं हार्दिकताकासाथ नयाँ वर्षको स्वागत गरौंँ । नयाँ वर्ष, नयाँ योजना, संकल्प र कार्यान्वयन सहितको वर्ष बनोस् वर्ष २०७७ । समग्र नेपाली दाजुभाइ तथा दिदीबहिनीका साथै हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक सबैमा हार्दिक मंगलमय शुभकामना !!!