फिचर

बैशाख १, २०७८ बुधबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संकटमा परेका छन् । उनलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चाले साथ छाड्ने निश्चित भएपछि उनी संकटमा परेका हुन् । 

योसंगै गुरुङ नेतृत्वको प्रदेश सरकार पनि धरापमा परेको छ ।  राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेसंगै प्रदेश सरकार धरापमा परेको हो । 

राजनीतिक घटनाक्रमले नयाँ मोड नलिए प्रदेश सरकार ढल्ने निश्चित भएको छ ।  सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन् ।

गण्डकी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको र त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्ण भएको वक्तव्यमा उल्लेख छ ।

‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ वक्तव्यमा भनिएको छ ।

आफूहरु वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकोले समर्थन गर्न नसकिने जनमोर्चाको तर्क छ । साथै, मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने तर सहभागी नहुनेसमेत जनमोर्चाले बताएको छ । जनमोर्चाले साथ नदिने भएपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सक्ने छैनन् ।

यसैबीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ सरकारका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र सक्रियता देखाइसकेको छ । 

सरकारको नेतृत्व कसले गर्ने र मुख्यमन्त्री को भन्ने भन्ने विषय चर्चा चुलिएको छ । भावी मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र माओवादी केन्द्रका सांसद दीपक कोइरालाको नाम चर्चामा आएको छ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी दुई, जनमोर्चा तीनसहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा ३२ सांसद छन् ।


प्रदेशसभामा एक स्वतन्त्रसहित एमाले पक्षका २८ सांसद छन् । यसमा एक सांसद माधवकुमार नेपाल पक्षका छन्। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।