विचार/व्यक्तित्व

बैशाख ३, २०७८ शुक्रबार

-गोविन्दराज जोशी

मानिसहरु आफ्नो काम सकिएपछि हिजोको कुरा बिर्सौं भन्छन् । तर विगत भनेको अनुभव हो, शिक्षा हो, भविष्यको मार्ग दर्शन हो । यसलाई बिर्सिएर वर्तमानमा सफल हुन सकिँदैन । त्यसले भनिन्छ, इतिहास मेट्नु र लुकाउनु हँुदैन । अर्काको इतिहास मेट्नु खोज्दा आफ्नो पनि मेटिन्छ । वर्तमानप्रति ईमानदार नहुनेको भविष्य पीडादायक हुन्छ । एक दिन म कान्तिपुर टेलिभिजनमा प्रशारित गिरिजाबाबुको आत्मवृत्तान्त हेर्दै थिएँ । मेरो ध्यान दुनै काण्ड (माओवादी आक्रमण) माथिको उहाँको अभिव्यक्तिमा केन्द्रित भयो । उहाँ ‘सुरक्षा निकायले सहयोग नगरेकाले दुनै काण्डपछि गृहमन्त्रीलाई राजीनामा दिन लगाएको हुँ, भन्दै हुनुहुन्थो । उहाँले किन साँचो कुरा नबोल्नुभएको होला ? लाग्यो मैले पर्छ ।

डोल्पा सदरमुकाम दुनैमा भएको माओवादी आक्रमण प्रजातन्त्र विरुद्धको सुनियोजित षड्यन्त्र थियो । मङ्सिर २०६५ मा गिरिजाबाबु प्रधानमन्त्री भएपछि विस्थापित कार्यकर्ताहरुलाई त्यो साल दशैैँसम्ममा घर फर्काउने भनी उहाँले गर्नुभएको प्रतिज्ञालाई वास्तविकतामा परिणत गर्न गृहमन्त्रीको हैसियतले मैले कालीकोट, रोल्पा, रुकुम, सल्यान, प्युठान र जाजरकोटको स्थलगत निरीक्षण गरेँ र एउटा योजना पनि बनाइयो । दशैँ अघि ९ असोज २०५७ मा डोल्पा सदरमुकाम दुनैमा माओवादीले आक्रमण गरे । सदरमुकाम कब्जा गर्न सकेनन्, ब्याङ्कबाट तीन करोड रुपैयाँ लुटे । माओवादी आक्रमणको भोेलिपल्टै तत्कालिन राजा वीरेन्द्र त्यसतर्फ जाने कार्यक्रम बनेछ । तर उनलाई त्यसतर्फ  जान नदिई म आफैँ गएँ । माओवादीले सदरमुकाम आक्रमण गरेको भोलिपल्टै राजा किन डोल्पा जान चाहन्थे ? त्यो खोजीको अर्को विषय हुनेछ ।

डोल्पाबाट फर्केपछि माओवादी प्रभावित ६ जिल्लामा प्रहरी अपरेशन गर्ने निकार्य मन्त्रीपरिषद्ले गर्याे । त्यतिखेर मन्त्रिपरिषद्का सबै निर्णय राजाकहाँ जान्थे । तत्कालीन राजा माओवादीविरुद्ध कारबाहीको पक्षमा थिएनन् । माओवादीहरुले पनि राजा मातहतको सेनालाई छोएका थिएनन् । उनीहरु आफ्नो प्रमुख दुश्मन प्रहरीलाई ठान्थे । सशस्त्र प्रहरीसँग त उनीहरु डराएका पनि थिए । माओवादी विरुद्ध परिचालन गर्नकै लागि गठन गरिको सशस्त्र प्रहरीले सबैको सहयोग पाएको भए माओवादीले आजको सफलता पाउने थिएन । तर, यही अपरेशनको कुरा गर्न जाँदा राजाले गिरिजाबाबुलाई भनेछन्, “प्रहरीले माओवादी विरुद्ध लड्न सक्दैन । सेना प्रयोग गर्ने हो भने गृहमन्त्री, प्रहरी महानिरीक्षक (आईजीपी) र गृहसचिवलाई निकाल्नुपर्छ ।”

गिरिजाबाबुले राजीनामा माग्नुभयो भने गृहसचिव पद्म पोखरेललाई अन्यत्र सुरुवा गर्नुभयो । मैले राजीनामा दिनुअघि गिरिजाबाबुलाई भनेको थिएँ, “तपाईको यो निर्णय गलत हो । यसले तपाई, कांग्रेस र सिंगोे देश, कसैलाई पनि फाइदा गर्दैन ।” उहाँले मलाई पुनः दशैँपछि गृहमन्त्रीमा ल्याउँछु भनेर फकाउनुभयो । विश्वमा कुनै प्रधानमन्त्रीले आफ्नो मन्त्रीलाई बलिवेदीमा चढाएर आफ्नो पद थाम्न सक्दैन । मैले भनेँ, “मेरो राजीनामाले तपाईको पदावधि ६ महिना थपिएला, धेरै समय जाँदैन ।” नभन्दै त्यस्तै भयो । २६ असार २०५८ को होलेरी काण्डमा तत्कालीन शाही नेपाली सेनाको असहयोगका कारण उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।

माओवादीको हिंसात्मक विद्रोह र त्यसपछिको पछिल्लो ‘शान्तिपूर्ण’ आन्दोलन जनातालाई शक्तिसम्पन्न बनाउन र बहुलवादमा आधारित बहुदलीय व्यवस्थाका लागि होइन । कांग्रेस, एमालेका नेताहरुले यो नबुझ्दासम्म नेपालको राजनीति अन्योलमा रहिरहन्छ । दुनै काण्डपछि माओवादी विरुद्ध सेनाको सहयोग पाइन्छ भन्ने विश्वासमा रहनुभएका गिरिजाबाबुलाई होलेरी काण्डको असफलताले माओवादीसँगको वार्ताका लागि अघि बढायो । उहाँ स्वयंले दिल्लीमा प्रचण्ड र डा. बाबुराम भट्टराईसँग कुरा गर्न सकिने व्यवस्था मिलाइयो । वि.सं. २०५७ को अन्त्यतिर सम्पन्न वार्ताका कुराहरु काठमाडौँमा गोप्य र सुरक्षित तरिकाले छलफल गर्न सकिने व्यवस्था मिलाइयो र भयो पनि । शीर्ष तहमा भएको वार्ताको निष्कर्षकै आधारमा अर्को औपचारिक वार्ता ६-७ जेठ २०५८ मा दिल्लीमा भएको थियो । जसमा म स्वयं र डा. शेखर कोइराला सहभागी भयौँ । लगातार दुई दिन, १२-१२ घण्टासम्म हाम्रो टोली र डा.बाबुराम भट्टराई, कृष्णबहादुर महरा र देव गुरुङबीच छलफल भयो ।

‘संसद्को अधीनमा सेना राख्ने’, ‘कार्यकारी अधिकारी सम्पूर्ण रुपले मन्त्रिपरिषद्मा रहने’ र ‘संविधानका अन्य धाराहरु लोकतान्त्रिक पद्धतिअनुसार संशोधन हुने भए २०४७ सालको संविधान संशोधन गर्दा माओवादीलाई मान्य हुने’ सहमतिका साथ हामी काठमाडौँ फर्कियौं । यी सहमति लागू गर्न तत्कालीन देउवा सरकार बाधक नहुनेमा पनि हामी सहमत थियौँ । तर हाम्रो वार्ता अघि नै गिरिजाबाबुले ‘म समस्याको निकाश निकाल्छु’ भन्दै माओवादीहरुसँग आफूले गरेको भेटघाट बारेमा तत्कालीन राजालाई भनिसक्नुभएको रहेछ । राजा कुनै पनि हालतमा कांग्र्रेसको हातबाट माओवादी समस्या समाधान नहोस् भन्ने चाहन्थे । राजाको दृष्टिमा माओवादी आन्दोलन कांग्रेस समाप्तिका लागि हो भन्ने थियो । उनलाई त्यसको जानकारी दिनु गलत रणनीति थियो गिरिजाबाबुको । परिणामतः हामी दिल्लीबाट फर्केकै दिन देउवाले संसद् विघटन गरे । त्यही कारण कांग्रेस पनि फुट्यो । हाम्रो प्रयास पनि असफल भयो ।

यहाँ अर्को एउटा घटना पनि उल्लेख गर्न आवश्यक छ । १९ माघ २०६१ मातत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए । म दमौलीमा गिरफ्तार भएँ । १० दिनपछि म छुटेँ । म काठमाडौँ आउँदासम्म शाही कदमको विरुद्ध कांग्रेसको आधिकारिक धारणा आएको थिएन । सभापति र महामन्त्री नजरबन्दमा हुनुहुन्थ्यो । यो इतिहासको एउटा गलत कदम हो । यसका विरुद्धमा कांग्रेसले केही गरेन भने कांग्रेसले ठूलो मूल्य बेहोर्नुपर्दछ भन्दै पार्टीको सहमहामन्त्रीको हैसियतमा मैले बाहिर भएका साथीहरुसँग परामर्श शुरु गरेँ । केवी गुरुङ, बलबहादुर राई, बलदेव मजगैया, रामशरण महत, अर्जुननरसिंह केसी, दिलबहादुर घर्ती आदि केन्द्रीय सदस्यहरुसँग परामर्श भयो । अन्य दलहरुसँग सम्बन्ध राख्ने कामको जिम्मा केही साथीहरुलाई दिइयो । केवी गुरुङ पार्टीको निर्वाचन आयोगको अध्यक्ष हुनाले उहाँलाई भूमिगत राखियो । मेरो आह्वानमा आन्दोलन गर्नुभन्दा नजरबन्दमा रहनुभएका पार्टी सभापति गिरिजाप्रसद कोइरालाको नामबाट गर्न उचित हुने भएकाले उहाँकै हस्ताक्षरमा ७ फागुन २०६१ बाट शाही कदमको विरुद्धमा नेपाली कांग्रेसले आन्दोलनको आह्वान गरेर त्यसको जानकारी पछि कृष्णचन्द्र झमार्फत गिरिजाबाबु कहाँ दिइयो ।

कुनै परामर्श नगरी उहाँले किन गरेको भनेर भन्नु चाहिँ भएन । मुख्य सचिव शोभाकर पराजुलीले कार्यालय सञ्चालनको गोप्य व्यवस्था मिलाउनुभएको थियो । नजरबन्दबाट मुक्त भएलगतै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा गिरिजाबाबुले भन्नुभयो, “मैले नजरबन्दबाट नै आन्दोलन सञ्चालन गर्न जिम्मा दिएका केही केन्द्रीय सदस्यहरु त आन्दोलन शुरु गर्नुभन्दा पनि आन्दोलनको विरोधमा पो देखिए ।” नामै किटेर भन्नुभएको ती व्यक्तिहरुका तत्कालीन क्रियाकलायहरु कुनै बेला अवश्य खुल्नेछन् । मलाई अहिले लाग्छ, एक हिसाबले भन्ने हो भने उहाँलाई जानकारी नदिइ कन उहाँको हस्ताक्षर चलाएर शुरु गरिएको त्यो आन्दोलन असफल भएको भए मेरो चाहिँ के हविगत हुनेरहेछ । अनि पनि सतर्क रहन थालेँ । इतिहासबाट सबैले पाठ सिक्नुपर्ने रहेछ । यी कुराहरु मैले सहभागी पात्रहरुको जीवनकालमा नै व्यक्त गर्न उचित ठानेँ र गरेँ ।

सत्ताको लोभले नेताहरुलाई अन्धो बनाउँछ । त्यसैले सत्तामा रहँदा सधैँ कार्यकर्ताको भीडभाड भइरहने नेताको जीवनको अन्तिम अवस्था कार्यकर्ताविहीन र पीडादायी हुने  गर्छ । कार्यकर्ताले आफू प्रयोगमात्र भएको महसूस गरेको दिन उसले नेतालाई छोड्छ । विश्वासमा कार्यकर्ताले नेतालाई ज्यान दिन्छ, विश्वास गुम्दा नेतालाई फट्कारेको धुलो पनि दिँदैन । इतिहासले हामीलाई सिकाएको पाठ यहि हो ।

लेखक नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुनुहुन्छ ।
साभार : हिमालखबर पत्रिका २०६६ पुस १६