गण्डकी

बैशाख ३, २०७८ शुक्रबार

तनहुँ। तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो ।

बन्दीपुर गाउँपालिका-६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका-१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बिहीबारदेखि बत्ती बलेको छ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त ठाउँमा बत्ती बलेको हो । बन्दीपुर गाउँपालिका-६ का ६२ र व्यास नगरपालिका-१४ का ५३ घरमा बत्ती बलेसँगै दुवै वडा अन्धकारमुक्त भएका छन् ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिए । ‘उनले भने,‘यहाँका स्थानीयवासी यस अगाडि सोलार र टुकीका भरमा बस्दै आएका थिए, विद्युत् पुगेसँगै स्थानीयवासीमा खुशी छाएको छ गाउँपालिकाका कुनै पनि घर अब अँध्यारो छैन ।’

व्यास नगरपालिका-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले विद्युत् विस्तारसँगै वडा पनि पूर्णरुपमा उज्यालो भएको जानकारी दिए । ‘उनले भनेउक्त वडामा कूल ८२३ घरधुरी छ । ‘मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सोलार प्रयोग हुन्थ्यो । वडाकै लगानीमा नौ ठाउँमा सोलार खम्बा पनि राखेका थियौँ’। अब त बिजुली नै आएपछि सहज हुने भयो ।’

जिल्लाका विद्युत् नपुगेका ठाउँमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत सुदृढीकरण तथा विस्तार आयोजनाले काम गरिरहेको छ ।

आयोजनाका इञ्जिनीयर लक्ष्मण रेग्मीले घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गर्ने कामलाई तीव्र बनाइएको जानकारी दिए ।

त्यसका लागि घिरिङ गाउँपालिका-४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका-६ साराङघाटमा सवस्टेशन निर्माणको काम भइरहेको छ । ‘उनले भने ‘छ-आठ एमभिए क्षमताको ट्रान्सफर्मर राखेर दुई वटा सवस्टेशन निर्माणाधीन अवस्थामा छ, असार मसान्तभित्र काम सम्पन्न गर्ने भनिए पनि विविध कारणले काममा ढिलाइ भयो ।

उनका अनुसार असान्तभित्र काम सम्पन्न गर्न कठिनाइ भएकाले आगामी छ महीनाभित्र काम सम्पन्न हुने अनुमान गरिएको छ । सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सघाएको हो ।

तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुनेछ । रासस।