समाचार

बैशाख ३, २०७८ शुक्रबार

पोखरा । गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा आर्थिक बर्ष २०७७/०७८ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका केही योजनाहरु अन्तिम चरणमा पुगेको छ । प्रदेश सांसद रामजीप्रसाद बराल (जीवन) र प्रदेश सांसद डा. पुष्पा केसी भण्डारीको क्षेत्रमा परेका २५ वटा योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको सांसद बरालले बताए ।
 
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पोखरा महानगरका अधिकांश योजना सम्पन्न भएका छन् भने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा छनौट भएका केही योजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको सांसद बरालले बताए । 

कृषि, पर्यटन सहितका क्षेत्रमा समेटिने गरी दुई करोड बजेटका लागि साना ठूला गरी २५ वटा योजना छनोट भएको थियो । स्थानीय जनताको आवश्यकताको आधारमा छनोट भएका योजनाहरु उनीहरुको सक्रियतामा छनोट भएका योजनाहरुको अधिकांश योजनाहरुको निर्माण कार्य सम्पन्न भएको सांसद बरालले जानकारी दिए । पोखरा महानगरको १,२, ३, १८,१९ र २५ वटा वडा र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा सर्वसम्वत रुपमा योजना छनोट गरिएको थियो ।
 
पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले योजना सम्पन्न भए पश्चात अनुगमन टोलीले योजनाको अनुगमन भए पछिमात्र भुक्तानी हुने बताए । कास्की क्षेत्र नम्वर ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका ५० प्रतिशत भन्दा बढी योजना सम्पन्न भएको कार्यालयका इन्जिनियर प्रदीप पौडेलले बताए ।
 
यसैबीच शुक्रबार सांसद बरालले माछापुच्छ्रे ३ को खरीवोट, भलावोट बाटो विस्तार योजना तथा सडक ढलान कार्यको अवलोकन गरेका छन् । उक्त योजनामा ८ लाख ५० हजारको बजेट विनियोजन भएको खरिवोट भलावोट बाइस धारा बाटो विस्तार योजनाका अध्यक्ष प्रकाशमोहन पोखरेलले बताए ।
 
यस्तै सांसद बरालले भेडावारी सामुदायिक भवनमा फर्निचर तथा फर्निसिङ खरिद प्रक्रिया सम्पन्न भएकोले उक्त योजनासमेत अवलोकन गरेका थिए । उक्त योजनामा तीन लाख ५० हजार विनियोजन भएको थियो । सांसद बरालले भेवाडारीमा हाल निर्माण हुँदै गरेको मोटरेवल पुलको समेत अवलोकन गरेका थिए ।