समाचार

बैशाख ३, २०७८ शुक्रबार

पोखरा । पोखरामा कोरोना संक्रमितको संख्या लगातार बढ्दो क्रममा छ । यसले गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की र पोखरामा कोरोनाको उच्च जोखिम बन्दै गएको छ । केही हप्तादेखि पोखरामा संक्रमण उच्च गतिमा बृद्धि भएको छ ।  

शुक्रबार मात्र पोखरामा ८५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित सबै पोखरा महानगरपालिका भित्रका नै हुन् । क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि र विधि ल्याब ललितपुरमा गरिएको परीक्षणमा एकैदिन ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार गण्डकी प्रदेशमा हालसम्म एक लाख ३८ हजार ८७० नमुना परीक्षण गरिएकोमा १७ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म प्रदेश १६ हजार ४१५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४६२ सकिय संक्रमित रहेका छन् । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै ३७२ संक्रमितहरु कास्कीमा छन् ।

तथ्याङ्कअनुसार हालसम्म गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा धेरै दुई हजार ४४३ जनामा संक्रमण देखिएको छ । यस्तै सबैभन्दा कम मनाङमा २० जना मात्र संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आज उपलब्ध तथ्याङ्कअनुसार प्रदेशका जिल्लामध्ये कास्कीमा सबै भन्दा धेरै ३७२ जना सक्रिय संक्रमित छन् । 

यसैगरी बागलुङमा ५१, पर्वतमा सात, म्याग्दीमा पाँच, स्याङजामा सात, तनहुँमा १२, गोरखा एक र नवलपरासी पूर्व (नवलपुर) मा ११ जना सक्रिय संक्रमित छन् । प्रदेशका मुस्ताङ, मनाङ र लमजुङमा हाल सक्रिय कोरोना संक्रमितको संख्या शून्य छ । पछिल्लो समयमा संक्रमितको संख्या बृद्धि भएपछि कास्की प्रदेशकै रेडजोनमा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमण नवलपरासी पूर्व (नवलपुर) मा दुई हजार ४४३ जनामा देखिएको छ । त्यसमध्ये २४ सय १० जना निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ । 

तनहुँमा १ हजार ५०६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ४६९ जना निको भइसकेका छन् भने २५ जनाको मृत्यु भएको छ । यस्तै लमजुङमा ९१४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९०९ जना निको भइसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ । गोरखामा हालसम्म ८४६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ८३६ जना निको भइसकेका छन भने नौ जनाको मृत्यु भएको छ । 

सबैभन्दा धेरै कास्कीमा हालसम्म आठ हजार ७०३ जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये आठ हजार २१६ जना निको भइसकेका छन । गण्डकी प्रदेशमै कास्कीमा सवै भन्दा धेरै ११५ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म प्रदेशमै सबैभन्दा धेरै ३७२ सक्रिय संक्रमित कास्कीमा नै छन् ।

बागलुङमा हालसम्म एक हजार ९६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये एक हजार ३७ जना निको भइसकेका छन् भने आठ जनाको मृत्यु भएको छ । त्यसैगरी स्याङजामा हालसम्म ८४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८२३ जना निको भइसकेका छन् भने १७ जनाको मृत्यु भएको छ ।

पर्वतमा हालसम्म ४०४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३९४ जना निको भइसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यस्तै म्याग्दीमा हालसम्म २७७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २६९ जना निको भइसकेका छन् भने तीन जनाको मृत्यु भएको छ ।

प्रदेशका हिमाल पारिका जिल्लाका रुपमा चिनिएका मुस्ताङमा ३२ जना र मनाङमा २० जनामा संक्रमण देखिएको  छ । तर, कोरोना संक्रमणबाट दुवै जिल्लामा कसैको पनि मृत्यु भएको छैन । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २०७ जनाको मृत्यु भएको छ भने संक्रमितको कुल संख्या १७ हजार ८४ पुगेको छ ।

भिडभाड बढेको बढ्यै

कोरोना संक्रमण बढ्दै गए पनि पोखरामा माक्स लगाउने बाहेक कुनै पनि सुरक्षा अपनाइएको पाइँदैन । कोरोना संक्रमण जोखिमलाई वेवास्ता गर्दै अत्यन्तै भिडभाड देखिन्छ । यसले मानिसलाई कोरोना भाइरसप्रति कत्ति पनि डर नभएको महसूस गर्न सकिन्छ । केहीले माक्समात्र प्रयोग गरे पनि कतिपयले माक्ससमेत लगाउन छाडेका छन् । औपचारिक कार्यक्रमहरु मनि धमाधम भइरहेका छन् । 

कोरोना संक्रमण सम्बन्धमा सरकारी निकायबाट सूचना प्रशारण र प्रकाशनबाहेक नागरिक सचेतनामा कुनै पनि ध्यान दिइएको छैन । कोरोना संक्रमण बढ्दै गएपछि मजदूर बर्गमा भने चिन्ता बढेको छ । यसअघि करिब ६ महिना लकडाउन हुँदा निकै अत्तालिएका मजदूरहरु पुनः लकडाउन भएर चुलो बन्द हुने हो कि भन्ने चिन्तामा छन् । 

यस्ता छन् तथ्यांकहरु