देश

बैशाख ४, २०७८ शनिबार

तराई। श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय-खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् ।

चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि शुक्रबार नै व्रतालुले पर्वको पहिलो दिन ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् । पर्वको तेस्रो दिन आइतबार सूर्य उपाशनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् ।

यसलाई मिथिलामा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन अर्थात् सोमबार बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाइ मिथिलामा ‘भोरका अरख’ भनिन्छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ ।

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिलाक्षेत्रका बुद्घिजीवी बताउँछन् । पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीको भनाइ छ ।

मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति बासन्ती छठ मनाउने चलन भने छैन ।

यद्यपि पछिल्ला केही दशकयता बासन्ती छठको रमझम पनि बढ्दै गएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ । सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ ।

खासमा सूर्यको उपासनाले चर्मरोग नहुने र भएमा चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ । बासन्ती छठ बासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व सँगसँगै पर्ने गरेको छ । -रासस