गण्डकी

बैशाख ४, २०७८ शनिबार

म्याग्दी। म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ ।

मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् ।

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका-२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।

पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आएको छ । यस वर्ष गत एक महिनाको अवधिमा म्याग्दीको एक हजार ६०० हेक्टर जङ्गलमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

तर, वर्षाले आगलागी नियन्त्रणमा आएको स्थानीय बासिन्दाले बताएका छन् । असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थिायो भने बर्खे खेती लगाउन पनि असर परेको थियो । -रासस