समाचार

बैशाख २०, २०७८ सोमबार

पोखरा । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दीर्घनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गरे । उनलाई राष्ट्रिय सभाकोसाझा उम्मेदवार बनाउने पनि घोषणा गरे ।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । उनले जेठ ६ गते हुने राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए । माओवादीबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रियसभाको पुनः चुनाव हुँदैछ ।

पाण्डेले आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । कांग्रसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को एकबाट उनले चुनाव जितेका थिए । उनलाई एमालेले प्रदेश सभाको सामाजिक समिति सभापति समेत बनाएको थियो ।

प्रदेशसभा सदस्य त्यागेका पाण्डेले एमालेको तानाशाही प्रवृत्ति मन नपरेकाले सदस्य पदबाटै राजीनामा दिएर कांग्रेसमा फर्किएको बताए । ‘मैले सदन र संसदीय दलमा पटक पटक व्यक्तिगत स्वार्थको साटो जनताको हित हेरौं भनेर कुरा राखेको थिए । तर, मेरो कुरा सुनिएन । त्यसैले दिक्क भएर राजीनामा दिएको थिएँ,’ उनले भने । पाण्डेले अबको राजनीति कांग्रेसबाटै गर्ने र जनताको सेवा गर्ने बताए ।