समाचार

बैशाख २१, २०७८ मंगलबार

पोखरा । कोरोना संक्रमण फैलिंदै गएपछि कास्कीमा आज बिहान ५ बजेदेखि कडा लकडाउन शुरु भएको छ । लकडाउन लागू भएपछि आज बिहानैदेखि पोखरा बजार सुनसान बनेको छ ।

सडकमा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन गुडेका छैनन् । बजारका मुख्य चोकहरुमा सुरक्षाकर्मी खटिएका छन् । खाद्यान्न, मेडिकल, तरकारी र अत्यावश्यक सेवाका पसलबाहेक अन्य कुनै पनि पसल खुल्न सकेका छैनन् । 

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सवारी साधन सडकमा गुडेका छैनन् । पोखराबाट सञ्चालन हुने र पोखरा भित्रिने छोटा तथा लामा दूरीका सबै सवारी ठप्प छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन अघि नै बैशाख २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक पश्चात् जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै लकडाउन घोषणा गरेको थियो ।

यसअघिको निषेधाज्ञामा जोर–विजोर प्रणालीमा सवारी साधन चलाउन पाइए पनि लकडाउन अवधिभर कुनै पनि सवारी साधन चलाउन नपाइने प्रशासनले जनाएको छ ।

साथै यसअघि बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन भएका खाद्यान्न तथा किराना पसलहरु अबदेखि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र पाइने भएको छ । लकडाउन उल्लंघन गरे कार्वाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्रबैंकको निर्देशन अनुसार सञ्चालन हुने, पत्रकारहरुले सूचना विभाग तथा नेपाल पत्रकार महासंघको परिचय पत्रवाहकलाई छुट दिने र अत्यावश्यक सबै सवारीलाई सञ्चालन गर्न दिइने भएको छ ।

यस्तै, जिल्ला सहकारी संघ कास्कीको निर्णय अनुसार सहकारीहरु पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन हुने भएका छन् । 

८४५ जना सुरक्षाकर्मी परिचालन

कास्कीमा लकडाउन कडाइका साथ लागू गर्न ८४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीबाट ६९५ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले गण्डकी भ्वाइसलाई जानकारी दिए । 

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट ६३५ जना र गणबाट ६० जना सुरक्षाकर्मी कास्कीमा खटिएका छन् । कास्कीमा बिहानैदेखि लकडाउनलाई कडाइका साथ लागू गरिएको र अटेरी गर्ने केही व्यक्ति र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको उनले बताए । 

यसैगरी नेपाल सशस्त्र प्रहरीबाट कास्कीमा १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी वल कालिका गण मालेपाटनबाट ती सुरक्षाकर्मी खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक विश्ववन्धु पौडेलले गण्डकी भ्वाइसलाई जानकारी दिए । यस्तै, आवश्यक परेको खण्डमा नेपाली सेना समेत परिचालनका लागि तयारी अवस्थामा राखिएको बताइएको छ । 

तस्वीर : पुकार पुर्जा पुन