समाचार

बैशाख २१, २०७८ मंगलबार

झापा । चट्याङ लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक असई ४५ वर्षीय महादेव ठाकुर रहेको जिल्ला प्रहरी प्रवक्ता  डिएसपी राकेश थापाले जानकारी दिए । 
असइ ठाकुर प्रहरी किचकवध प्रहरी चौकीमा कार्यरत थिए । सोमबार राति करिब ९ः४५ बजे झापाका विभिन्न भूभागमा हावाहुरीसहित पानी परेको थियो । सोही समयमा ड्युटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर ओत लागेका थिए । सोही बेला परेको चट्याङ लाग्दा असई गम्भीर घाइते भएका थिए ।

घाइते ठाकुरलाई  उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल पुर्याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिएको डिएसपी थापाले जानकारी दिए ।
  
असई ठाकुर महाभारा प्रहरी चौकीमा दरबन्दी रही किचकबध प्रहरी चौकीमा कार्यरत थिए । उनी एक महिना अघिमात्र काजमा किचकवध प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न आएका थिए ।

उनी मोरङ जिल्ला विराटनगरका स्थायी वासिन्दा हुन् । उनी २०५१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको शव मेची अस्पताल भद्रपुरमा राखिएको र पोस्टमार्टम पश्चात् परिवारलाई  बुझाइने प्रवक्ता थापाले जानकारी दिए ।