समाचार

बैशाख २१, २०७८ मंगलबार

पोखरा । कास्कीमा आज एकै पटकमा १४४ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज मध्यान्ह १२ः५० बजे यो जानकारी दिएको हो । 

कास्कीका १४४ जना संक्रमितमध्ये १ जना अन्नपूर्ण गाउँपालिकाका हुन् भने बाँकी १४३ जना पोखरा महानगरपालिकाका हुन् । यी सबैको परीक्षण पोखराको न्यूरोडस्थित लाइफ केयरमा गरिएको हो ।

योसहित कास्कीमा कूल कोरोना संक्रमितको संख्या १० हजार २८० जना पुगेका छन् । जसमा ८६ सय ९१ जना निको भएका छन् । पोखरामा सोमबार साँझसम्मको तथ्यांक अनुसार १३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बागलुङमा एक, लमजुङमा एक, स्याङ्जामा चार र तनहूँमा ११ जना संक्रमित आजै भेटिएका हुन् ।  

विज्ञप्ति