विश्व

बैशाख २१, २०७८ मंगलबार

मेक्सिको। मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरु स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।

 घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताए । उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको बताए । मृतकहरू बालबालिका तथा महिलासमेत रहेको उनले बताए ।

शेनबाउमले कारमा फसेका अन्य व्यक्तिहरू जिवितै रहेको वा मृत्यु भइसकेको अझै थाह हुन नसकेको उनले बताए । मेक्सिको सिटीको रेल सेवा संसारको सबभन्दा ठूलो र व्यस्तमध्ये एक हो, आधा शताब्दी पहिले यसको उद्घाटन भएदेखि कम्तिमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् । गत वर्षको मार्चमा, टाकुबाया स्टेशनमा दुई रेल बीचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए । -एजेन्सी