एकै घरका ३ कोरोना संक्रमितको मृत्यु

बैशाख ३१, २०७८ शुक्रबार

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका-४ का एकैघरका तीन जनाको कोरोना संक्रमण कारण ज्यान गएको छ । 

बडिगाड-४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै सङ्क्रमित भएको र ज्यान जानेमा पनि बिहेभोजमा गएका नै रहेको स्थानीयवासीको भनाई रहेको छ । उनिहरु तीनै जनाको एक हप्ताभित्रमै ज्यान गएको हो ।  स्वास्थ्य कार्यालयका अनुसार ज्यान गुमाउनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेको बताए ।  

उनीहरूमध्ये ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ भने ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङमै मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

यस्तै एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि ल्याइएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि ज्यान गएको छ । यस् घटनापछि त्यहाँका बस्तिमा सन्त्रास छाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने थप कडाईका साथ जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।