भारतमा दैनिक संक्रमण र मृत्युदर केही घट्यो

जेठ १, २०७८ शनिबार

काठमाण्डौ। पछिल्लो क्रमंमा भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दैनिक रुपमा कमी आएको छ ।

 भारतको स्वास्थ्य मन्त्रालयको अनुसार दैनिक चार लाखभन्दा धेरैमा संक्रमण पुष्टि र चार हजारभन्दा धेरैको ज्यान जान थालेको भारतमा केही दिनयता सो संक्रमण सङ्ख्या घटेको हो।

पछिल्लो २४ घण्टाको विवरण अनुसार भारतमा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिए भने तीन हजार आठ सय ९० जनाको ज्यान गएको छ । भारतले गएको जनवरीमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो । अहिलेसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न नसकेको जनाएको छ ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक चार लाखसम्म पुगे पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर सङ्क्रमित धेरै देखिएका दिल्ली, मुम्बई लगायतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् ।  

भारतमा अहिले कोरोनाको ठूलो संकट सामना गरिरहेको बेला अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको समेत बताइएको छ ।