नेप्से परिसूचकमा आज १० अर्ब ४० करोडको कारोबार

जेठ २, २०७८ आइतबार

काठमाण्डौ। नेप्से परिसूचक आइतवार (आज) ५४ अङ्कभन्दा धेरैले बढेर २७३८.२९ अङ्कमा पुगेको छ ।

शेयर बजार कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा उच्च विन्दु २ हजार ७ सय ३५ दशमलव ४६ अङ्क रहेको थियो ।

आज कारोबार हुने सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ५८४.२१, जीवन बीमा समूहको परिसूचक पाँच सय २८ दशमलव ७८ र विकास बैंक समूहको परिसूचक ११२.५९ अङ्कले बढेको छ ।

त्यस्तै आज कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज १० अर्ब ४० करोड रुपैयाँ बराबरको दुई करोड १३ लाख कित्ता सेयर किनबेच भएको छ । यो एकैदिन कारोबार भएको रकम अहिलेसम्मकै उच्च हो ।

आज नेपाल रिइन्स्योरेन्ज कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।