७ हजार ३६८ संक्रमित थपिए, १४५ जनाको मृत्यु

जेठ २, २०७८ आइतबार

पोखरा। नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा :

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । आज देशभर हाल १ हजार ३३१ कोरोना संक्रमितको आईसीयूमा र ३७० को भेन्टिलेटरमा गरी कुल १ हजार ७०१ जना उपचाररत रहेको मन्त्रालयकोे तथ्यांक उल्लेख गरिएको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार गण्डकी प्रदेशमा ९८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यसतै प्रदेश १ मा १९२ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९९ आईसीयूमा र ४८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ।
यसैगरी बागमती प्रदेशमा ५५४ जना आईसीयूमा र २१९ जना भेन्टिलेटरमा छन्।

निक हुने दर ७४.६ प्रतिशत :

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थप १४५ जना कोरोना संक्रमितको मृत्यु :

नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।