एनआरएनएको आह्वान, आइतबार साँझसम्म १ करोड ११ लाख बढि नेपाली रुपैयाँ संकलन

जेठ ३, २०७८ सोमबार

दोहा। पछिल्लो क्रमंमा नेपालमा कोरोना भाइरस संक्रमणको माहामारी बढेसंगै विदेशमा रहेका नेपाली श्रमिक तथा बिभिन्न संघ सस्थाहरुले पनि आफ्नो सक्दो सहयोगमा आर्थीक संकलन गरि सहयोग गरेका छन् । 

‘नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ’ भन्ने नारासहित गैर आवासीय नेपाली संघ(एनआरएनए), मध्यपूर्वले सुरु गरेको अभियानमा खाडीमा कार्यरत घरेलु श्रमिकदेखि ब्यवसायीसम्मले आर्थिक सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एनसीसी अध्यक्षहरुले कतार, साउदी अरब, कुवेत, ओमान, यूएई र बहराइनमा रहेका एनआरएनएले आह्वान गरेको अनुरोधलाई स्वस्फूर्त स्वीकार गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरुले स्वेच्छिक रकम उठाएर सम्बन्धित देशमा रहेका एनआरएनए अध्यक्षलाई उपलब्ध गराएको जानकारी दिए ।

संयोजक आरके शर्माको अनुसार कतारबाट ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएईबाट १५ लाख, कुवेतबाट १३ लाख ५० हजार तथा साउदी अरबबाट १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

आइतबार साँझसम्म १ करोड ११ लाख ५० हजार नेपाली रुपैयाँ संकलन भैसकेको संयोजक शर्माले बताए । खाडीमा कार्यरत नेपाली श्रमिकहरुको मन ठूलो रहेको भन्दै सहयोग जुट्ने क्रम जारी रहेको ती देशमा रहेका एनआरएनए अध्यक्षहरुले बताएका छन्  ।

पहिलो चरणमा ७५ लाख बराबरको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएर सरकारलाई हस्तान्रण गरिसकिएको जनाउँदै थप भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्री पनि पठाउने बारे छलफल भैरहेको बताए । साथै १५ सय अक्सिमिटर समेत चीनबाट ल्याएर सातै प्रदेशमा पठाउने योजना रहेको बताए । 

त्यस्तै एक अर्को प्रसङमा उनले हवाई उडान लम्बिदै गए मध्यपूर्वबाट स्वदेश फर्किने नेपालीहरुलाई समस्या पर्ने भन्दै उद्धार उडान गरेर भए पनि फर्किने बातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।