मिस युनिभर्सको उपाधि मेक्सिकन सुन्दरी एन्ड्रियालाई

जेठ ३, २०७८ सोमबार

पोखरा ।  ‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ६९ औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् ।  २६ वर्षीया एन्ड्रियाले ७३ देशका सुन्दरीलाई पछि पार्दै यो उपाधि पोल्टामा पारेकी हुन् । मे १६ मा संयुक्त राष्ट्र अमेरिकाको सेमिनोल हार्ड रक होटल एन्ड क्यासिनो हलिउडमा भएको यस प्रतियोगितामा मेक्सिकोकी सुन्दरीले बाजी मारेकी हुन् ।

ब्राजिलकी सुन्दरी जुलिया गामा, पेरुकी सुन्दरी जेनिका मसेटा र भारतकी सुन्दरी एडलाइन क्यास्टेलिनो क्रमशः फष्ट, सेकेन्ड र थर्ड रनरअप बनेका छन् । सुन्दरी प्रतियोगीतामा भाग लिन नेपालबाट आंशिका शर्मा गएकी थिइन् ।

आंशिकासँगै यो प्रतियोगीतामा नेपालबाट अहिलेसम्म चार जना सुन्दरीहरुले सहभागीता जनाइसेका छन् । जसमा सन् २०१७ मा नगमा श्रेष्ठ, सन् २०१८ मा मनिता देवकोटा र सन् २०१९ मा प्रदीप्ता अधिकारी । आंशिका शर्मा मिस नेपाल २०२० की फष्ट रनरअप हुन् ।

सन् २०२० मा आयोजना हुनुपर्ने मिस युनिभर्स कोरोना कहरका कारण एकवर्ष पछाडि धकेलिएको हो । यस वर्षको मिस युनिभर्सका होस्ट पूर्व मिस युनिभर्स विजेता ओलिभिया कल्पो र मारियो लोपेज हुन् ।

विभिन्न देशका ७४ जना सुन्दरीले यस वर्षको मिस युनिभर्स उपाधिका लागि सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट २१ जनाले मात्रै अन्तिम चरणसम्म जाने मौका पाएका थिए । 

को हुन् मेजा ?

एबीपीलाइभका अनुसार ५ फूट ११ इञ्चकी एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन् । उनी मेक्सिकोको चिहुवाहुवा सहरकी हुन् । जहाँ उनको पूरा परिवार बस्छन् ।

उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन दुत हुन् । एन्ड्रियाले आफ्नो ठाउँमा घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानीय संस्कृति प्रदर्शन गर्छिन् ।

महिला अधिकारका विषयमा उनी उत्तिकै सक्रिय छिन् । उनले म्युनिसिपल इनिस्टिच्यू फर वुमेनसँग नजिक रहेर काम गरेकी छन् ।

संस्थाको उद्देश्य लैंगिक हिंसा अन्त्य गर्नु हो ।

उनी एक सर्टिफाइट मेकअप आर्टिष्ट र मोडल हुन् । उनी क्रसफिस र एक्स्ट्रीम स्पोर्टसको शौखिन हुन् ।

समाज र जनावरप्रति विशेष सोच राख्ने एन्ड्रिया शाकाहारी हुन् । उनी विश्वलाई नै शाकाहारी भोजनका लागि प्रोत्साहित गर्छिन् ।