कोरोना उपचार : भारतमा उत्पादन् ’टू–डीजी’ नामक औषधि प्रयोग गर्न अनुमति

जेठ ४, २०७८ मंगलबार

भारत। भारतमा विकास गरिएको नयाँ औषधिले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गर्न अनुमति पाएको छ । 

औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले ’टू-डीजी’ नामक औषधिलाई संक्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको हो । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिदै छ ।

भारत सरकारका अनुसार यो औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको दाबी गरेको छ । तर केही आलोचकहरूले कोभिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन् । 

टू-डीअक्सी-डी-ग्लुकोज वा टू-डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन  (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्युदरमा अपेक्षा गरिए अनुसार कमी नआएपछि यसलाई उपचारका लागि प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।

 तर, स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको पनि बताएका छन् ।