जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

जेठ ९, २०७८ आइतबार

लमजुङ। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । लम्जुङ बेँसीशहर नगरपालिका-८ मा रहेको जिल्ला अस्पतालमा शनिबार मात्रै प्लान्ट जडान गरेर स्थापना गरिएको छ । 

जिल्लामा शनिबार बिहान प्लान्टका निर्माण सामग्री आइपुगेपछि दिउँसोबाट जडान कार्य थालनी गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठ बताए । अक्सिजन उत्पादन गर्न शुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उनको भनाइ छ । 

यस अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ  । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेशन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने तयारी भएको साथै अस्पतालका ८३ श्ययामा नै पाइपलाइन जोड्ने अस्पतालले जनाएको छ । तत्कालका लागि भने कोरोना सङ्क्रमितलाई प्राथमिकता दिँदै २५÷३० श्ययामा मात्र वितरण गर्ने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

हाल ५० अक्सिजन सिलिण्डर रहेको बताइएको छ भने अस्पतालमा अक्सिजनसहितको २५ श्यया आइसोलेशनको रहेको छ । यहाँ यतिबेला १७ कोरोना सङ्क्रमित उपचारत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई दैनिक १७ वटा अक्सिजन आवश्यक पर्ने र पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीका अनुसार अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मङ्सिर महिनामा रु ७५ लाख पठाएको थियो । साथै सोही बेलाबाट ठेक्का प्रक्रिया शुरु गरेर रु ५५ लाखमा प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नलाई दिइएको थियो ।