भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

जेठ १०, २०७८ सोमबार

काठमाडौँ। कोरोना भाइरस दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण दरवृद्धि भएकोमा केही दिन यता कमी आएको छ ।
   
केहिदिन पहिले लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८३५ जनामा संक्रमण भएको छ । यो पछिल्लो नतिजाको तुलनामा झण्डै २२ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६७ लाख ५१ हजार ६८१ पुगेको छ । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने कमी आएको छैन । 

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ ।