कुर्सी (कविता)

जेठ १३, २०७८ बिहीबार

तिमी हेर्दा त सानै छौ प्रिय, तर तिम्रो शक्ति कति छ है

जसले नि तिमीलाई नै घुरिराछन् घरी घरी डाह लाग्छ तिम्रो लोकप्रियता देखेर

मागौँ मागौँ लाग्छ सित्तैमा आउँछौ कि तिमी राजिनाम लेखेर

यताबाट गएकाले तिमीलाई नै हेर्ने, त्यताबाट आएकाले नि तिमीलाई नै घेर्ने

तिमीलाई नपाउँदा एउटाले अर्कोलाई आँखा तर्ने, न तिमी तिम्रो ठाउँबाट उठन सक्छौ

न मन परेको मान्छेसित बस्न पाउँछौ, न मन नपरेकोलाई त्याग्न सक्छौ

बलजफ्ती थ्याच्छ बसिदिन्छन् तिम्रो हृदय, रोयो होला कसैको तितो बचनले

मन छोयो होला अमूर्त छौ, सहनै पर्यो ट्वाल्ल परेर हेर्छौ बोल्न त परै रह्यो

थाहा छैन तिमीलाई तिम्रो लागि कति लडाइँ भएको छ, भित्र भित्रै कालो तुवाँलोले छाएको छ

एकले अर्कोलाई खोट लगाउँछन् तिम्रा लागि कति नोट चलाउँछन्

तर तिमी नजर अन्दाज गरेर बसेकै छौ रमिते भएर जसै सहेकै छौ

वचन फर्काउन सक्दैनौ अनि टोलाउँछौ ।

गुहार माग्न नेपाल आमा बोलाउँछौ, आखिर तिमी जस्तै हुन नेपाल आमा

हृदय चर्काउँछिन्, चित्कार गर्छिन् अनि तिमी जस्तै टोलाउँछिन्

अनि उही भगवानलाई बोलाउँछिन् अनि सुस्केरा हालेर भन्छिन्

देखाउ तिम्रो कुर्सीको रासलिला कहिले सम्म घुरेर बस्छौ

यो निर्दोष कुर्सीको यो गडेको किला ।।

 

लेखक : डिल कुमारी पौडेल

प्राज्ञ परिषद सदस्य, गण्डकी प्रज्ञा प्रतिष्ठान