आकांक्षा र सपना अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धी, तयारीमा जुटे

आकांक्षाले मलेसियामा हुने मिस पेटिट ग्लोबल २०२२ मा सहभागिता जनाउने

जेठ १४, २०७८ शुक्रबार

आकांक्ष र सपना

पोखरा । मिस ग्रेस पोखरा २०२१ को उपाधि विजेता आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने भएकी छन् ।

आकांक्ष मलेसियामा आगामी फेब्रुअरीमा निर्धारण गरिएको मिस पेटिट ग्लोबल २०२२ मा सहभागिता जनाउने पक्का भएपछि तयारीमा जुटेकी छन् । टियरा मेनेजमेन्टद्धारा आयोजित प्रतियोगितामा २० देशका प्रतिस्पर्धी सहभागी हुनेछन् । 

यो सहभागिताको उपाधि जित्नका लागि फाइनल स्पिच, प्रश्न उत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभिउ मार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नुपर्नेछ । जसका लागि तयारी गरिरहेको आकांक्षाले बताइन् । 

उनले हालै सम्पन्न नेपाल संगीत तथा नाट्य अवार्डमा वेष्ट पेजेन्ट अवार्ड जितेकी थिइन् । पोखरास्थित जनप्रिय क्याम्पसबाट प्लस टू उत्तीर्ण उनी अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् ।

२० वर्षीया आकांक्षाको जन्म भारतमा भएको हो । उनलाई अभिनय र घुमघाम गर्न बढी रुची छ । उनी अहिले पोखराको रामबजारमा बस्छिन् । मिस ग्रेस पोखराको विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने भएकोले आफूलाई यो अवसर आएको उनको भनाइ छ ।

नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउँदै उपाधि चुम्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । ‘मेरो लक्ष्य नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउँदै उपाधि चुम्ने हो’ उनले भनिन् ।

कार्यक्रममा डिजे सस्पोइजनको रुपमा परिचित सुशीलराज गौतम राष्ट्रिय निर्देशकको रुपमा सहभागी हुनेछन् । डिजे सस्पोइजनले नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ मा वेष्ट फेशन म्युजिक अवार्डको पुरस्कार पाएका थिए ।

सपना पनि तयारीमा

मिस ग्रेस पोखरा २०२१ को फस्ट रनर्सअप सपना कार्कीले मिस टिन इन्टरनेशनलमा सहभागिता जनाउने भएकी छन् । उनु हुने भएको छ । रुबि मोडलले भियतनाममा आयोजना गर्ने मिस टिन इन्टरनेशनलमा उनी सहभागी हुनेछन् । प्रतियोगिता आगामी अक्टुवरमा हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा जाने सोचमा रहेकी सपनालाई संगीत सुन्न, घुम्न, नृत्य गर्न तथा साहसिक गतिविधिमा रुचि छ । आफूमा अभिनय गर्न सक्ने क्षमता समेत रहेको उनी बताउछिन् । 

पोखराकी सपनाले हालै प्लसटुको अध्ययन पूरा गरेकी हुन् । उनको पनि नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी बनेर नेपालको कला संस्कृतिको बारेमा जानकारी गराउँदै उपाधि चुम्ने सपना छ । यो कार्यक्रममा राष्ट्रिय निर्देशकको रुपमा सागर आचार्य सहभागी हुनेछन् ।