कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनको विरोध

जेठ १४, २०७८ शुक्रबार

चीन। कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनले विरोध गरेको छ । भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए ।

तर चिनियाँ विदेश मन्त्रालयले यसको विरोध गरेको बीबीसीले जनाएको छ । साथै चीनले कोभिड-१९ र वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि बताउदै आएको छ ।

कोरोना भाइरस सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान सहरमा देखा परेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संक्रमणबाट विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएको आधार मान्दै अग्रणी वैज्ञानिकहरूले यो भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसै वर्षको स्थलगत अध्ययनपछि यस भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो । -बीबीसी