हाम्रो गणतन्त्र : जनता अक्सिजन, नेता कुर्सी नपाएर तड्पिने

जेठ १४, २०७८ शुक्रबार

आज नेपालको १४ औं गणतन्त्र दिवस । संविधानसभाको निर्वाचनपछि बसेको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । त्यही घोषणाबाट करिब २४० वर्षको राजसंस्था बिदा भयो । गणतान्त्रिक शासन व्यवस्थाको १३ वर्ष पूरा भएको छ । हामीले १४ औं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रलाई संस्थागत गर्नुपर्ने विषय पनि हाम्रा सामु चुनौतीको रुपमा रहेको छ । देशको वर्तमान राजनीतिक अवस्थाको कुरा गर्ने हो भने निकै कलालीलाग्दो छ । राजनीतिक दलहरु बीचको बेमेल, सत्ताको खिचातानी, नेताहरुबीचको शक्ति संघर्षले कतै मुलुक अँध्यारो कुनातर्फ धकेलिंदै त छैन भन्ने प्रश्न जनजनको मनमा उव्जिएको छ । 

कोरोना महामारीको संकटपूर्ण अवस्थामा पनि नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई कुनै प्रवाह छैन । जनता सिटमोल र अक्सिजन नपाएर तड्पिरहँदा नेताहरु भने कुर्सी नपाएर भौंतारिरहेका छन्, तड्पिइरहेका छन् । यसवर्ष पनि कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण गणतन्त्र दिवसको कुनै औपचारिक कार्यक्रम छैन । यही संकटभित्रै आजै अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट आउँदैछ । अध्यादेशमार्फत मुलुकको बजेट ल्याउनुपर्ने अवस्था दलहरुले नै सृजना गरेका छन् । यो जत्तिको विडम्वना अरु के हुन सक्ला ? 

गणतन्त्र दिवस मनाउने सन्दर्भमा आयोजना गरिने केही औपचारिक कार्यक्रमले जनतालाई आकर्षित गर्न सकेको पाईंदैन । यसो हुनुको मुख्य कारण गणतन्त्र संस्थागत हुन नसक्नु नै हो । गणतन्त्रको संस्थागत विकास नहुँदा गणतन्त्र प्राप्तिको यो अवधिमा यो उपलब्धिलाई तुहाउन खोज्नेहरु पनि अनेक ढङ्गले परिचालन भएको छर्लङ्ग छ । यसो गर्नु भनेको गणतन्त्रका लागि बलिदानी दिएका, रगत पसिना बगाएका नेपाली जनताको अपमान शिवाय अरु केही हुनै सक्दैन । हो, राजनीतिको उच्च तहसम्म पहुँच भएका सीमित व्यक्तिहरूको जीवनशैलीमा द्रुत गतिमा परिर्वतन भएको छ । देखिने आम्दानी बिनै अधिकांश नेता र तिनका सहयोगीहरूले राजधानी उपत्यका र ठूला शहरमा महल बनाएल जग्गा जोडे । महँगा गाडी किने । विदेशमा सम्पत्ति जोडे । आफ्ना छोराछोरीलाई सरकारी र विदेशी छात्रवृत्तिमा विदेशमा पढाए । दैनिक गरिखाने वर्गको जीवन जहाँको त्यही रह्यो । 

शासनमा सुधार भएको कुरा तथ्य-तथ्यांक र अनुभूति दुवैतिर देखिनुपर्छ । सरकारसँग सफलता देखाउने तथ्यांकहरू धेरै होलान् तर आमअनुभूतिमा देखिएको छैन । सुशासन व्यवहारमा देखिनुपर्छ, प्रत्येक व्यक्तिले अनुभूत गर्नुपर्छ । तथ्यांक बुझेर पर्गेल्ने क्षमता प्रत्येक व्यक्तिमा हुँदैन तर अनुभूति प्रत्येकले गर्न सक्छ । सुशासन बढ्यो, रोजगारी बढ्यो, भ्रष्टाचार नियन्त्रण हुँदैछ भनेर सन्तोष गर्ने ठाउँ छैन । कानूनमा शासन प्रणाली र पद्धति बदलियो, आमूल परिवर्तन भयो तर आमजनजीवनमा अनुभूति भएन । निश्चय नै राजनीतिक उपलव्धिका दृष्टिले हाम्रो परिवेशमा राजसंस्थाको तुलनामा गणतन्त्र अग्रगामी फड्को हो । यो फड्को आमजीवनमा व्यावहारिक रूपान्तण हुनुपर्छ । यसो नभएसम्म गणतन्त्रको सफलतामा प्रश्न उठिरहन्छ ।

राजनीतिक परिवर्तनका हिसाबले नेपालमा गणतन्त्रले नयाँ युगको सुरुवात त गरेको हो । यो परिवर्तन आत्मसात गर्न नचाहने परम्परावादी शक्तिलाई किनारामा पार्दै र जनताको विश्वास जित्दै अघि बढ्नु चुनौतीपूर्ण थियो । गणतन्त्र १४ औं वर्षमा प्रवेश गर्दा मुलुकले यो चुनौती कुशलतापूर्वक सामना गरेको छ र संस्थागत सुदृढीकरणको मार्गमा अघि बढेको छ । तर संविधानको स्वीकार्यताको व्यापकता र कार्यान्वयनका हिसाबले अझै पनि संवेदनशील अवस्थामा छ । त्यसैले दलहरु अब पनि नमिल्ने हो र जनताप्रति उत्तरदायी नबने हो भने गणतन्त्र र संविधान मात्रै धरापमा पर्दैन यो मुलुकको भविष्य निकै अन्धकारमा धकेलिन्छ । त्यसैले यसतर्फ सबैको ध्यान जान आवश्यक देखिन्छ । गणतन्त्र दिवसको हार्दिक शुभकामना ।