कोरोना संक्रमणबाट पोखरामा चार जनाको मृत्यु, को-को हुन् ?

असार ४, २०७८ शुक्रबार

पोखरा । कोरोना भाइरस संक्रमणबाट कास्कीमा आज चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना पुरुष र एक जना महिला छन् । 

मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. २ का ५४ वर्षीय पुरुष रहेका छन् । गत जेठ १९ गते कोरोना संक्रमित उनको पोखरास्थित मेडिप्लस अस्पतालमा आज मृत्यु भएको हो । 

यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ६७ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमित भएकी ति महिलाको पनि आज मृत्यु भएको हो । 

उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

डा. शर्माका अनुसार पोखरा ३२ का ८७ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट आज निधन भएको छ । जेठ ३१ गते कोरोना संक्रमित उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी पोखरा ३ का ५२ वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । जेठ ३१ गते कोरोना संक्रमित उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

योसहित कास्कीमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ ।