अग्रज पत्रकार बाँस्तोलाको सम्झनामा महासंघको श्रद्धाञ्जलीसभा

असार ४, २०७८ शुक्रबार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको सम्झनामा श्रद्धाञ्जलीसभा आयोजना गर्यो । अध्यक्ष बिमला भण्डारीको नेतृत्वमा महासंघको एक टोली स्व. बाँस्तोलाकै निवासमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । 

उक्त अवसरमा महासंघका पूर्व अध्यक्ष नारायण कार्कीले स्व. बाँस्तोला सबैको प्रेरणाको श्रोत भएको बताए । उनले नेपाली पत्रकारिता जगतले एक असल पत्रकार गमाएको भन्दै उनको अभाव लामो समय खड्किरहने बताए । स्व. बाँस्तोलाले देखाएको बाटोमा हिंड्न सकेमात्रै सच्चा श्रद्धाञ्जली हुने कार्कीले बताए । 

महासंघकी अध्यक्ष भण्डारीले स्व. बाँस्तोला पत्रकारिता जगतकै अभिभावक गुमाएको भन्दै पत्रकारिता जगत असल अभिभावकविहीन भएको भन्दै उहाँको निधनले अपूरणीय क्षति पुगेको बताइन् । 

उनले पत्रकार महासंघ स्व. बाँस्तोलाको योगदानलाई जीवन्त राख्न सकेको सहयोग गर्ने प्रतिवद्धता जनाइन् । साथै परिवारजनले बाँस्तालालाई सधैं सम्झना हुने खालका कदम अघि बढाएर महासंघ सहकार्य गर्न तयार रहेको बताइन् ।

उक्त अवसरमा महासंघका पूर्व अध्यक्षद्धय पुण्य पौडेल, दीपेन्द्र श्रेष्ठ, वर्तमान उपाध्यक्ष जमुना वर्षा शर्मा सचिव माधव बराल, सदस्य हरि पन्त, पूर्व सदस्य एकराज गिरी लगायत सहभागी थिए ।  

पत्रकारितामा लामो समय क्रियाशील पत्रकार बाँस्तोलाको गत जेठ २७ गते निधन भएको थियो ।