गण्डकी प्रदेशमा अबको तीन दिन भारी वर्षा हुने

असार ५, २०७८ शनिबार

पोखरा । गण्डकी प्रदेशका केही भूभागमा आजदेखि अझै तीन दिन भारी वर्षा हुने भएको छ । 

पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएकाले गण्डकीमा अबका तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार बिहान ८ बजे मौसममा निकै परिवर्तन आएको छ । राति भारी वर्षा भएको पोखरामा अहिले बिहान पनि भारी वर्षाको संकेत गरेको छ । 

महाशाखाका अनुसार आज, भोलि र पर्सीसम्म गण्डकीसहित प्रदेश नं. १, लुम्बिनी, बागमती र पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना छ । आइतबार नेपालका केही भेगमा भने अति भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

यस्तै, अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने बताइन्छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै धाम लाग्ने र क्षणभरमै पानी पर्न सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार बिहानको समय धेरैजसो स्थानमा घाम लाग्ने र दिउँसो वा रातिसम्म वर्षा हुनेक्रम केही दिन चलिरहेने छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ ।

सोही कारण देशका केही भूभागमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको छ ।

एक साता लगातारको वर्षाले पहाडी भेगको माटो भिजिसकेको छ । त्यसैले पनि रोकिँदै फेरि वर्षा हुँदा हल्का वर्षाले पनि भेल पहिरो र सुख्खा पहिरो जानसक्ने भएकाले पहाडी भेगमा थप सावधानीको आवश्यकता रहेको महाशाखाले उल्लेख गरेको छ ।

वर्षाको क्रम जारी नै रहेकाले खहरे र साना खोलमा आकस्मिक बहाव र ठूला नदीको सतहमा बढोत्तरी हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।