नेपालमा फैलिंदै कोरोनाको ‘डेल्टा’ भाइरस, चितवनमा पनि भेटियो

असार २८, २०७८ सोमबार

पोखरा । कोरोना भाइरस-१९ को ‘डेल्टा भेरियन्ट’ नेपालमा फैलिंदै गएको छ । आइतबार स्याङ्जा र गोरखामा फेला परेको डेल्टा आन चितवनमा पनि फेला परेको छ । 

चितवनको भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । 

सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो  अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।

अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । 

कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका उनले जानकारी दिए ।

डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् । 

विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ ।