तेल बोक्ने ट्यांकरको ठक्करबाट २२ वर्षकी युवतीको मृत्यु

साउन २, २०७८ शनिबार

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् ।

पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । सो दुर्घटनामा २६ वर्षका सुवास चौधरी घाइते भएका छन् ।

आज साँझ ६ बजे ना८ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिंदा मोटरसाइलको पछाडि सवार सिर्जना गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा पूरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । 

घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।