प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

साउन ३, २०७८ आइतबार

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मत आएको हो । यस्तै तटस्थमा १ मत पर्यो । नेकपा एमालेका माधव नेपाल पक्षका केही सांसद मतदानमा सहभागी नभई मतदान अघि नै संसद भवनबाट बाहिरिएका थिए ।

माधव पक्षका सांसदहरू गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा,दिपक भट्ट, नारायण खतिवडा संसद भवनबाट बाहिरिएका हुन् ।

यस्तै, ओली पक्षका चार सांसदले पनि फ्लोरक्रस गरेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गरेका थिए । ओली पक्षका सांसदहरु धनबहादुर बुढा, गोपाल बम, किशन श्रेष्ठ र प्रेम ओलले देउवालाई मत दिए । 

सरकारको नेतृत्वका लागि आफू नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएका थिए । 

विश्वासको मतको प्रस्तावमाथि भएको मतदानको परिणाम सुनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको धारा १०० को उपधारा ६ बमोजिम विश्वासको प्रस्तावको पक्षमा १६५ मत परेको र सो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्ताव स्वीकृत भएको घोषणा गरे । आजको बैठकमा २४९ जना सांसद उपस्थित थिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, जसपाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय नै गरेका थिए । साथै नेकपा एमालेका माधव कुमार नेपाल पक्षका सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

सर्वोच्च अदालतले असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । त्यसको भोलिपल्टै अर्थात असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । आफू प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमै देउवाले संसदबाट विश्वासको मत पाएका हुन् ।