वडाध्यक्ष र वडासदस्य लागुऔषधसहित पक्राउ

साउन ४, २०७८ सोमबार

पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिका-१ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।

प्रहरीले उनीसँगै रहेका वडासदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडाध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । 

उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए । प्रहरीले खैरो हिरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएक तीनै जनाविरुद्ध लागूऔषध मु्द्दामा आवश्यक कारबाही शुरु गरिने जनाएको छ ।