सयपत्री सहकारीको रक्तदान, ३० युनिट रगत संकलन

साउन १९, २०७८ मंगलबार

पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय रजिष्ट्रार उदयबहादुर पराजुलीले सयपत्री सहकारीलाई अन्तर्राष्ट्रियस्तरको संस्था बनाउन रोल मोडलको भूमिका निभाउन सक्नुपर्नेमा जोड दिएका छन् । 

पोखरास्थित सयपत्री वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सव तथा आठौं खुला रक्तदान कार्यक्रममा उनले विश्वमा सहकारीमार्फत् धेरै परिवर्तन भएको भन्दै सयपत्री सहकारीलाई विश्वमा परिचित बनाउन भिन्न तवरबाट आवद्ध शेयर सदस्यलाई एकद्वार प्रणालीबाट आर्थिक कारोबार गर्न सुझाव दिए ।

पराजुलीले विश्वमा सरकार र सहकारीलेमात्र अरुको हित चाहने गरेको स्पष्ट पारे । उनले अरुको सेवा गर्ने र सामाजिक उत्तरदायित्व वहन गर्ने नै सहकारीले भएको बताए । 

सहकारीका उपाध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । 

कार्यक्रममा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहनप्रसाद बास्तोला, पूर्व अध्यक्ष विश्वराज बाँस्तोला लगायतले बोलेका थिए । 

रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको सहकारीको शिक्षा समितिका सदस्य प्रमिला श्रेष्ठले सिद्धान्त वाचन, संयोजक वसन्तराज कोइरालाले स्वागत र सचिव कृष्णप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।