समावेशिता व्यवहारमै देखिन आवश्यक : विष्ट

साउन १९, २०७८ मंगलबार

पोखरा । केयर नेपालले पत्रकारहरुका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । 

नेपाल पत्रकार महासंघ कास्की शाखासंगको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम कास्कीका साथै गण्डकी प्रदेशका पत्रकारहरु सहभागी थिए ।

उक्त अवसरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अवधारणा र लैंगिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी सञ्चारमा विभिन्न सरोकारवाला निकायहरुको भूमिकाका बारेका छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले महासंघ सबैभन्दा बढी समावेशी संस्था भएको भन्दै थप समावेशी बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए

समावेशिताको विषयमा धेरै वहस भए पनि अब व्यवहारमै देखिने गरी काम गर्न आवश्यक रहेको भन्दै उनले यसमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकारका व्यवहार र महासंघले गर्ने हरेक गतिविधिमा पनि समवेशिता आवश्यक रहेको बताइन् । 

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले समावेशिता कुरामा नभई मुद्धामा हुनुपर्नेमा जोड दिए । उनले यस सम्बन्धमा मिडियाले कत्तिको काम गरिरहेको छ भनेर पनि हेरिनुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रममा केयर नेपालका संचार विशेषज्ञ विशेष संगतले स्वागत र महासंघ सहसचिव श्रीराम सिग्देलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण विशेषज्ञ सुजाता सिंह र केयर नेपालका सामाजिक मूल्य मान्यता रुपान्तरण संयोजक मनोरमा सुनारले प्रशिक्षण दिएका थिए । 

यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी सञ्चारमा विभिन्न सरोकारवाला निकायहरुको भूमिकाका विषयमा पत्रकारिता एवं सञ्चार विज्ञ प्रकाश लामिछानेले प्रशिक्षण दिएका थिए ।