पोखराका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज, भेटघाटका लागि नआउन आग्रह

साउन १९, २०७८ मंगलबार

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मस्तिष्कघात भइ काठमाडौंस्थित न्यूरो अस्पतालमा १९ दिनदेखि उपचाररत मेयर जिसी डिस्चार्ज भएका हुन् ।

मेयर जिसीका सञ्चार संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालका अनुसार मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएर चिकित्सककै निगरानीमा रहनेछन् ।

उनी केही दिन काठमाडौंको बुढानीलकण्ठस्थित छोरीको घरमा रहने बरालले जानकारी दिए । 

मेयर जिसीको सचिवालयले उनको उपचारमा सघाउने र शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै अझै केही साता भेटघाटका लागि कष्ट नगर्न आग्रह गरेको छ ।