तरुण दल कास्कीका नेता राधाकृष्ण तिवारी व्यवसायिक कृषिमा (भिडियोसहित)

साउन १९, २०७८ मंगलबार

पोखरा । नेपाल तरुण दलका कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति राधाकृष्ण तिवारी व्यवसायिक कृषिमा लागेका छन् । उनले विगत पाँच वर्षदेखि कृषि पेशा अंगालेका हुन् ।

पोखरा महानगरपालिका वडा नं. २८, ओख्लेमा ३८ वर्षका तिवारीले कृषि फर्म सञ्चालन गरेका छन् । उनले करिब १० रोपनी क्षेत्रफलको आफ्नै जग्गामा विशेषगरि तरकारी खेती गरेका छन् । 

उनको कृषि फर्मममा कुखुरा, उन्नत जातको बाख्रा, भैंसी, कफी, धान खेती र अर्ग्यानिक तरकारी छन् । 

करिब सात वर्ष शिक्षण पेशा, केही समय होटल र गार्मेन्ट व्यवसाय गरेका उनले विदेश जाने सपना पनि नदेखेका होइनन् । तर मन फर्काएर आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने सोंचका साथ कृषि पेशा अंगालेको उनले बताए । 

उनको काममा आफ्नै बुबा, आमा र श्रीमतीले साथ दिएका छन् । उनले २०७७ मा करिब आठ लाख रुपैयाँ आम्दानी गरेका उनले २०७८ मा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् । 

राजनीति गर्ने नेताहरु पनि अब व्यवसायमा लाग्न आवश्यक रहेको भन्दै नेता तिवारीले नेताहरुमा व्यवसायिक सोंच आएमात्र देश समृद्ध बन्ने स्पष्ट पारे ।

विपिको सिद्धान्त अंगालेको नेपाली कांग्रेसले मात्रै कृषि क्रान्तिमा केही गर्न सक्ने भन्दै उनले पार्टी नेतृत्वले पनि कृषि क्रान्तिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

कृषिमा दिइएको अनुदानमा अनियमितता हुने गरेको भन्दै अनुदान उत्पादनमा दिनुपर्नेमा तिवारीको जोड छ । 

तिवारी हाल सामुदायिक सेवा केन्द्र कालिकाका सभापति पनि हुन् । उनले गाउँमै बसेर सक्रिय रुपमा सामाजिक कार्य संगसंगै राजनीति पनि गरिरहेका छन् । 

उनले स्थानीय तहको निर्वाचनमा पोखरा २८ बाट वडासदस्य पदमा चुनाव लडेका थिए । 

भिडियोमा पनि हेरौं