न्यायालयलाई स्रोत साधनयुक्त बनाउनुपर्छ : मुख्यमन्त्री

भदौ १७, २०७८ बिहीबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत-साधन सम्पन्न बनाउन जोड दिएका छन् । 

उनले न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने स्पष्ट पारे । 

जिल्ला अदालत कास्कीले गरेको स्वागत कार्यक्रममा उनले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्तदुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गरे । उनले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिए ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारी दिए । जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेका अवस्था रहेको बताए । उनले नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताए ।

जग्गा खरिदका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ । अहिले सर्वोच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनको भनाइ छ । 

सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा.दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी थिए ।

यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री  नेपालीले नेपाली काँग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन् । आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मुलुकलाई समृद्धिका बाटोमा डोर्याउने दायित्व काँग्रेसको रहेको जनाउँदै उनले यसका लागि युवाहरु अग्रसर हुनुपर्ने भनाइ छ ।  पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनलाई  आफ्नो पक्षतिर आउनेगरी काम गर्न मुख्यमन्त्री नेपालीले आग्रह गरे । 

कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्व मेयर  भट्टराईको कांग्रेस  प्रवेशले पार्टी अझ बलियो हुने बताए ।

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी भट्टराईले सुशासनका लागि व्यवसायीलाई राजनीतिमा आकर्षित गर्नुपर्ने जनाउँदै राजनीतिक नेतृत्वबाट सुशासनको सुरुआत हुनुपर्नेमा जोड दिए ।