हरितालिका तीजको शुभकामना

भदौ २३, २०७८ बुधबार

-नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ । तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहीत छ ।

तीजको कथामा पार्वतीलाई पात्र बनाइएको छ । पार्वतीले शिवजीलाई पति पाउँ भनी भोकहडताल गरेको यसमा बताइन्छ । उनका बाबाले विष्णुसँग विवाह गरिदिन लाग्दा त्यो बैवाहिक सम्बन्धको विरुद्धमा शिवजीलाई रोजी भोक हड्ताल गरेको र उनको हडतालले सफलता पाएको किंवदन्ती रहेको छ । कथामा पात्रहरू जोसुकै खडा गरिए पनि यो महिलाहरूले आफ्नो इच्छामा पति चयन गर्न पाउनु पर्छ भन्ने भाव बोकेको छ । त्यतिबेला चेलीहरूको सानै उमेरमा विवाह गर्ने चलन थियो । जुन चलन आज पनि कतिपय ठाउँमा कायमै छ । विवाह सम वयस्कको आधारमा नभई धनको आधारमा हुने गर्दथ्यो । धनीहरूले दर्जनौँ कलिला नानीहरूसँग विवाह गर्न सक्थे । त्यसमाथि सतिप्रथा पनि कायम नै थियो । अनमेल विवाह गरेको बृद्ध पुरुषको निधन भएपछि भरखरै कलिलो उमेर पार गरेका युवतीहरू पतिसँग सति जानुपर्ने वाध्यता थियो । उनीहरू कालगतिले मर्न पनि पाउँदैनथे । न त आफ्नो खुसीले बाँच्न नै पाउँथे । वास्तवमा महिलाहरू पौराणिक कालबाटै आधा जीवन लिएर दविएर, खिइएर, पुरुषको सेविका भएर बाँच्नुपर्ने अवस्था थियो । त्यसको अवशेष अझै पनि कतिपय ठाउँमा देख्न सकिन्छ । यहि छनक तीजले दिएको पाइन्छ ।

नेपाल बहुसाँस्कृतिक मुलुक हो । यहाँ खोलैपिच्छे, टोलैपिच्छे डाँडैपिच्छे बेसीपिच्छे अलग अलग संस्कृति झल्कन्छन् । सबै मेलापर्वहरू पुरुष र महिलाका साझा रहे पनि तीज भने महिलाकोमात्र पर्व मानिन्छ । यसमा पुरुषको कुनै भूमिका रहेको हुँदैन । महिलाहरूले आफ्नो घरमा पाएका पीडाहरू माइतीमा आएर गीतको माध्यमबाट पोख्ने पर्वको रूपमा लिइन्छ । अहिले यो राजनीतिसँग पनि जोडिएर आउने गरेको छ । सरकारको कटु आलोचना गीतबाट गरिएका हुन्छन् । नेताहरूको चीरहरण गरिएको हुन्छ । किनभने सत्ता नै पितृसत्तात्मक जगमा खडा भएको छ । महिलाहरूको नामबाट सन्तानलाई नागरिकता दिन पनि सरकार हिच्किचाएको छ । महिलालाई विभिन्न तहमा ३५ प्रतिशत सहभागिता गराउने भनिए पनि महिलाका ठाउँमा पुरुषलाई नै स्थान दिने गरिएको छ । अहिले त भ्रुणमा छोरी भएको पाइएमा जन्मनै नदिने जस्ता काम पनि भएको देखिन्छ । महिलामाथि हुने गरेका अनेकन अन्यायविरुद्ध महिलाहरूले सशक्त रूपमा आवाज उठाउने एउटा पर्व हो हरितालिका तीज । तीज पर्व देश विदेशमा रहेका सबै महिला समुदायमा सुखद् रहोस्, मन्दिर वा आँगनमा पूजाआजा गरेर वा भोकै ब्रत बसेर होइन कि खाना खाएर दह्रो भएर आफ्ना हक अधिकारहरू स्थापित गर्ने शक्ति मिलोस्, विश्वमा फैलिरहेको कोरोना महामारीबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं । सकेसम्म घरभित्रै बसेर चाडपर्व मनाऔं । हार्दिक शुभकामना ।