अमरसिंहचोकमा ट्रक दुर्घटना, पोखराका आधा भूभागमा विद्युत सेवा अवरुद्ध

असोज ९, २०७८ शनिबार

पोखरा । पोखराको आधा भूभागमा विद्युत सेवा अवरुद्ध भएको छ । अमरसिंहचोकमा ट्कले विजुलीको पोल हानेपछि गएराति ४ः३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

ना३ख ६४०० नम्बरको ट्रकले विजुलीको पोल हानेको थियो । 

सो दुर्घटनापछि फेवा फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध भएको हो । बिहान ४ः३० बजेदेखि अवरुद्ध विद्युत आज साँझ ५ बजेसम्ममा सुचारु हुने नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले जनाएको छ ।

पोखराको अमरसिंहचोकदेखि पृथ्वीचोक, एयरपोर्ट, विरौटा, कृस्ति, पुम्दीभुम्दी, निर्मलपोखरी, चापाकोट हुँदै सिदानेसम्म विद्युत अवरुद्ध भएको बताइन्छ ।

अहिले अमरसिंहचोकमा भाँचिएको पोल फेर्ने काम भइरहेको बताइन्छ । पोलमा ठक्कर दिने ट्कको कागजपत्र नियन्त्रणमा लिइएको प्रहरी हवल्दार सुन्दर कुँवरले जानकारी दिए ।

सडकमा रहेका अव्यवस्थित विजुलीका पोलका कारण सवारी दुघएटना बढ्दै गएका छन् । यस्ता विषयमा धेरै गुनासा गरिंदै आएता पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

सडक विस्तारका क्रममा कतिपय विजुलीका पोलहरु सडकका बीच भागमै परेका छन् ।