अरिंगालले टोकेर समाजसेवी देवबहादुरको मृत्यु

असोज ९, २०७८ शनिबार

दैलेख । दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । 

बिहीबार स्कूलमा छोराको सर्टिफिकेट लिन जानेक्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कूल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।  

सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।