कालीगण्डकीमा मोटरेबल पुल निर्माण

असोज २३, २०७८ शनिबार

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्वको बेनी-जोमसोम-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ र अन्नपूर्ण गाउँपालिका-७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । 

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम-सगरमाथा-डाँफे-बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । असी मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए ।   

“पुल र पहुँचमार्ग निर्माण सकिएको छ”, उनले भने, “हस्तान्तरण भएपछि औपचारिक रुपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।” एघार मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो ।

दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधीले बताएका छन् । 

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा नम्बर-२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सत्तरी मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रुप दिन बाँकी छ । विसं २०६४ मा ट्रयाक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् । 

बेनी-जोमसोम सडकअन्तर्गतनै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रु आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । 

पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो ।

भारत र चिन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दुरीको बेनी-जोमसोम-कोरला सडक कालोपत्रे र स्तरोन्नतीको काम भइरहेको छ । 

रु छ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सात वटा खण्डमा काम भइरहेको छ । चार वटा खण्डको निर्माण सकिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादबले बताए ।

सो सडक स्तरोन्नति र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए ।