मुगुमा बस दुर्घटना: ३२ जनाको मृत्यु, कैयौं घाइते

असोज २६, २०७८ मंगलबार

तस्वीरः बीबीसी

मुगु । नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

उक्त दुर्घटनामा घाइते भएका र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका मध्ये थप चार जनाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बस दुर्घटनामा हालसम्म ३२ जनाको मृत्यु भएको छ।

मुगुका प्रजिअ महतले भने, "शवहरूलाई जिल्ला अस्पताल मुगुमा राखिएको छ। घाइते १६ मध्ये १३ जनालाई हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्‍याइएको छ।"

त्यसरी पुर्‍याइएका चारजना घाइतेहरूको बाँकेका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो।

एक जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र तीन जनाको मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

अहिले बाँकेका अस्पतालमा १२ जना घाइतेहरुको उपचार भइरहेको छ।

तीमध्ये १० जना मेडिकल कलेज कोहलपुर र २ जनाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

मुगुका प्रजिअ महतका अनुसार बस भिरालो कच्ची बाटोबाट करिब २ सय मिटर तल खसेको थियो।

बुलबुले प्रहरी चौकी जुम्लाका अनुसार त्यहाँ चेकजाँच गर्दा बसमा ४३ जना यात्रु थिए।

उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।

दुर्घटना यही कारण भन्ने यकिन नभए पनि बसको टायर पङ्चर भएर हो कि भन्ने आशङ्का गरिएको बताइएको छ।