आकाशको शब्द र सन्तोषको स्वरमा ‘बस है पियारी, घरबारै स्याहारी’ सार्वजनिक

असोज २७, २०७८ बुधबार

पोखरा। गीतकार आकाश दाहालको शब्द र गायक तथा सङ्गीतकार सन्तोष बस्यालको स्वरमा ‘बस है पियारी, घरबारै स्याहारी’ बोलको गीत सार्वजनिक भएको छ । 

गीतको भिडियोमा अभिनेत्री सोफी धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् भने निर्देशक नेत्र गुरुङले भिडियो सम्पादनको कार्य गरेका हुन् ।

भिडियोमा आकाश दाहाल, सोफी धरेल, शिशिर सापकोटा, बलराम अधिकारी, आशिष अधिकारी, निश्चल विक्रम पौडेल, जय गुरुङ, अनिशा तिवारी, प्रभात अधिकारी, शितला अधिकारी, किशोर उचाइँ, प्रमोद गौतम, जालमाया नेपाली, विकास सिंह र लक्ष्मण अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोको पोष्टर फोटोग्राफी भने सविन गायकले गरेका छन् ।

वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो जक्सन टिभीको युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । 

भिडियोमार्फत पछिल्लो समय खुसी भित्राउने लालशामा वर्षेनी थुप्रै नेपाली युवाहरू विदेशिने गरेको र विदेश जाने प्रत्येक युवाहरूको आफ्नै कथा, व्यथा र बाध्यताहरू प्रस्तुत गरिएको छ ।

साहुको ऋण, आफ्नो अनि बालबच्चाको भविष्यको चिन्ता गर्दै घरको मूल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनि आफ्नै खाले पीडा यो भिडियोले बोकेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा सहभागी गायक तथा संगीतकार बिनोद बाँनियाले भने, ‘गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’

उनले थपे, ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथा बोल्छ । अडियो मेकिङका हिसाबले पनि गीत उत्कृष्ट छ ।’ 

कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेशन’ भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । 

‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीत अनि भिडियोको मेकिङ लेभल पनि उत्कृष्ट छ’, उनले भने, ‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’

कर्यक्रममा जक्सन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले शुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’

भिडियो