एउटा अर्को भीष्मपितामहको महाप्रस्थान !

असोज ३१, २०७८ आइतबार

-विश्व सिग्देल

मौजा गाउँ कास्कीको लोकतान्त्रिक आन्दोलनको तीर्थ जस्तै हो । पोखराबाट दुई/तीन घण्टाको पैदल दूरी भए पनि भौगोलिक विकटताका कारण राजा र पञ्चायत विरुद्धको युद्धमा मौजा अभेद्य (बिगार्न नहुने) किल्ला जस्तै थियो ।

भेषजंग दाजु त्यही किल्लाको पहरेदार हुनुहुन्थ्यो । त्यस समयका सशस्त्र आन्दोलन, सत्याग्रह लगायत सबै प्रकारका संघर्षका योजनाहरु मौजाको त्यही भेषजंग दाजुको घर र वरपर बसेर बुनिन्थे ।

एउटा साधारण निम्नमध्यम परिवारको मानिस तात्कालीन पोखराको प्रख्यात हाइस्कूल सोल्जर्स बोर्ड हाइस्कूल हाल अमरसिंह माविमा पढ्न सानो संघर्ष र माता पिताको शिक्षाप्रतिको उच्च चेत विना सम्भव थिएन । त्यो समय हाइस्कूलको शिक्षा नै पोखरा समेतका लागि पि.एच.डी. सरह थियो । थप अध्ययनका निमित्त खर्च गरेर काठमाडौं पढन जाने घरको सामर्थ्य पनि थिएन । गाउँकै सामान्य स्कूलको शिक्षकको आवरणमा गुजारा र राजनीतिक संघर्षलाई संगसंगै व्यवस्थापन गर्नु चानचुने कुरो थिएन, जसलाइ उहांँले बखुबी (विशेष ढंगले) निर्वाह गर्नुभयो ।

त्यसमा पनि स्थानीय संभ्रान्त परिवारकी छोरी भएर पनि हदसम्मको जोखिम मोल्दै दाजुको संघर्षको सहघर्मिणी शकुन्तला भाउजुको उच्च साहस र साथ नभएको भए दाजुलाई यो कठिने बाटोमा यात्रा गर्नु सहज पनि हुने थिएन । दाजुको सहयोगी हुँदा-हुँदै भाउजु पो आन्दोलनको अग्रमोर्चामा उभिन आइ पुग्नुभयो । लालावाला हुर्काउने र पालनपोषणमा नंग्रा खियाउँनै पर्ने हुंँदा भाउजुलाई दाजुले पालो दिनुभयो । आँफूलाई थोरै समय गृहस्थीमा लगाउनु भयो तर राजनीतिमा विश्राम भने लिनुभएको होइन ।

भूमिगत कालमा बनारसबाट प्रकाशित हुने तरुण लगायत क्रान्तिबोधका पत्रपत्रिका लेखन सामाग्री पढ्न मौजै पुग्नुपर्थ्यो । ती साहित्यहरु भकारीभित्र लुकाएर राख्न सक्ने सामर्थ्य पनि कमै मानिसमा हुन्थ्यो । उहाँको बकितम भन्दा लिखितम गज्जबसंग धारा प्रवाह चल्थ्यो । अक्षरहरु अहिलेका छापाखानाका छापालाईसमेत माथ गर्ने सुन्दर, स्पष्ट बान्की परेका हुन्थे, ईख लाग्दा हुन्थे ।

बहुलवाद लोकतन्त्र साक्षेप राजनीतिक मूल्यका स्कूलबाट प्रशिक्षित भेषजंग दाजुलाई यो बजारमुखी कांग्रेसी स्कूलका नेता कार्यकर्ताको निमित्त ग्रहण गर्नु पर्ने केही विषय अझै बाँकी होला नहोला । तर आफ्नो मूल्यमा उहाँ संधै अविचल र अविश्रान्त रहनुभयो । जीवनको उत्तरार्धमा उहाँले कसैसंग गुनासो सिकायत केही गर्नुभएन । बरु खामोसी रोज्नुभयो । उहांँको खामोसीमा हजारगुणा बिद्रोह भावको तागत थियो ।

हिजो राति हाम्रो जिल्लाकै लोकतान्त्रिक आन्दोलनको अविभावक आदरणीय दाजु भेषजंग गुरुङको ७९ बर्षको उमेरमा महाप्रस्थान भयो । आदरणीय भाउजु शकुन्तला गुरुङ, छोराहरु, बुहारी, नातिनातिना सकल परिवारमा धैर्यधारण गर्ने सामर्थ्य रमेश्वरले प्रदान गरुन्, हार्दिक समवेदना । सुखावतिलोकमा दाजुको बास रहोस्, नमन, भावपूर्ण श्रद्धाञ्जली दाजु ।