फेरि सभापति बन्ने देउवाको तयारी, टिम बनाउन शीर्ष नेताहरुसंग छलफल

कात्तिक २६, २०७८ शुक्रबार

काठमाडौं । आशन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । 

सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, उपसभापति विजयकुमार गच्छदारलगायतका नेतासँग छलफल गरेका थिए ।

उक्त छलफलमा आशन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसमेत राखेर तयारी अघि बढाइरहेका उपसभापति विमलेन्द्र निधिको सहभागिता रहेको थियो ।

सहमहामन्त्री डा. महतले नेपाल सभापतिसँगको भेट नियमित र सामान्य भएको प्रतिक्रिया दिए । स्रोतका अनुसार बिहीबारको छलफल विशेष गरी निधिलाई पनि आफ्नो टिममा समेटेर देउवाले आशन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी गर्ने रणनीतिस्वरूप भएको हो ।

काँग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको तयारीबारे छलफल गर्न र कात्तिक २८ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न कात्तिक २७ गते पदाधिकारी बैठक बस्ने कांग्रेस सहमहामन्त्री डा. महतले जानकारी दिए ।

कांग्रेसको आशन्न महाधिवेशनमा संस्थापनइतर समूहले देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिन नसकिरहेका बेलामा देउवाले भने आफ्नो नेतृत्वमा टिमसहित महाधिवेशनमा होमिने तयारी गरिसकेका छन् ।

संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदै आएका छन् ।