फेवाताल किनारमा भीषण आगलागी, करोडौंका धनमाल जलेर नष्ट

मंसिर ६, २०७८ सोमबार

पोखरा । पोखरामा गएराति भीषण आगलागी भएको छ । राति करिब ४ बजे आगलागी भएको हो ।

पोखरा महानगरपालिका वडा नं. ६ स्थित फेवाताल किनारमा आगालागी भएको कास्की प्रहरीले जनाएको छ । 

आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेष्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धन सम्पति जलेर नष्ट भएको छ ।

आगलागीका कारण सो क्षेत्रमा हालसालै मात्र सञ्चालनमा आएको ओल्ड ग्रयाभिटीमा ठूलो क्षति पुगेको छ ।

ग्रयाभिटीमा मात्र ६० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ । 

अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुन सक्ने प्रहरीको आँकलन छ । 

आगलागी भएसँगै उक्त स्थानमा रहेका ग्यासका सिलिन्डरहरु पड्किएपछि आगो अन्यत्र पनि फैलिएको थियो ।

करिब ३ घण्टाको प्रयसामा आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको डिएसपी तिवारीले जानकारी दिए ।