जन्तीबसको ठक्करबाट मेरो फाइनान्समा कार्यरत वासु बस्नेतको मृत्यु

मंसिर ६, २०७८ सोमबार

फाइल तस्वीर

सिन्धुपाल्चोक । मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् ।

घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन् ।

मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।

शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।